दैलेखको मिथेन ग्याँसमा ध्यान पुगोस् है सरकार ?

देशमा नयाँ सरकार आएसँगै एक सय वटा कामहरूको विवरण सार्वजनिक भएको छ । कतिपय कामहरू वर्तमान अवस्थामा देखिएका धेरै भन्दा धेरै जनताबाट गुनासो आएका कामहरूका बारेमा एक सय दिनभित्र गरिसक्नुपर्ने भन्दै सरकारले पहिलो बैठकबाट एक सय वटा कामको सूचि सार्वजनिक सँगै ती कामहरूको रफ्तार बढाउने अभियान सुरु गरेको छ । कतिपय अल्पकालीन विषयहरू समावेश गरिएका छन् भने कतिपय दीर्घकालीन विषयहरू समावेश गरिएका छन् ।

मध्यपूर्वमा चर्किरहेको आन्दोलनको विषयलाई हेर्ने हो भने पनि नेपालमा इन्धन लगायतका विभिन्न खाद्य बस्तुहरूको मूल्य रातारात बढी रहेको छ । केही समय मध्यपूर्वको लडाई नरोकिएको खण्डमा नेपाल लगायतका अल्पविकसित मुलुकहरुमा इन्धनको चरम सङ्कट पर्न सक्ने अवस्था पनि उत्तिकै देखिएको छ । यस्तो अवस्थामा नेपालमा झन्डै दुईतिहाईसको सरकारले जेनजी आन्दोलन दबाउनका लागि पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै पक्राऊ गरेको छ । यो सँगै नेपालको राजनीति पुनः तातिएको छ । नेकपा एमाले अहिले आयोगको प्रतिबेदननै गलत भएको भन्दै सडक आन्दोलनमा उत्रिएको छ ।

नेपाली काँग्रेसको देउवा पक्ष समेत आन्दोलनको तयारीमा देखिएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको सम्पत्ति समेत छानबिन गर्नका लागि प्रक्रिया थालिएको छ । अन्य केही नेताहरू पनि धमाधम पक्राउ पर्ने क्रम चलिरहेको छ । आन्तरिक र बाह्य विभिन्न खाले षडयन्त्रहरू अल्पविकसित मुलुकहरूमा भई नै रहेका छन् । विकसित मुलुकहरूले आफ्नो पकड कायम राख्नका लागि मध्य पूर्वमा देखिएको लडाइँले समेत पनि यस्तै धेरै विषयहरूमा वकालत गरिरहेको भन्दै विश्लेषणहरू भई रहेका छन् ।

नेपालको कर्णाली प्रदेशको दैलेखमा रहेको मिथेन ग्याँसको विषयलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्दै देशको समग्र आर्थिक अवस्था सुधारको पहिलो पाटोका रूपमा यसलाई अवलम्बन गर्नुपर्छ भन्ने अधिकांश जनताको चाहना रहेका बेलामा सरकारले सार्वजनिक गरेका एकसयवटा काममा भने मिथेन ग्याँसको विषय स्पष्ट रूपमा नआएको विषयमा कतिपयले चिन्ता व्यक्त गरेको अवस्था छ ।
सरकार भर्खरै निर्माण भएकोले देशको समग्र आर्थिक विकासका लागि मेगा परियोजना अन्तर्गत यसको अध्ययन, अनुसन्धानहरू भइरहेका कारण पनि एक सय वटा काममा समावेश नभएको हुनसक्छ ।

यो काम पृथक् र देशको समग्र हितको , समृदिको काम भएकोले सरकारले थप अध्ययन र अनुसन्धान गर्दै दैलेखमा पुष्टि भइसकेको मिथेन ग्याँसको प्रशोधनका विषयमा प्रभावकारी काम गर्ने छ भन्ने आशा आम नेपालीमा पलाएको छ । देशको समग्र अर्थतन्त्र र हजारौँलाई रोजगारी प्रदान गर्न सक्ने मिथेन ग्याँस प्रशोधनको विषयमा सरकारले अवश्य पनि गम्भीर भएर यो कार्यमा लाग्ने विश्वास जनताले गरिरहेका बेलामा सरकारले यसबारे एउटा टोली नै निर्माण गरेर कसरी छिटो छरितो रूपमा मिथेन ग्याँसको प्रशोधन हुनसक्छ यो विषयमा अवस्यपनि काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार